जयकृष्ण यादव । इनरुवा
नेपाल सरकारका प्रवत्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले स्थानीय तह निर्वाचनलाई उत्सवको रुपमा लिन आग्रह गर्नुभएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका १० नम्बर वडामा मतदान गर्न आईपुग्नुभएका मन्त्री कार्कीले विश्वसनिय, स्वच्छ, निष्पक्ष, भयरहित र शान्तीपूर्ण वतावरणमा मतदान हुने भएकाले निर्धकका साथ निर्वाचन उत्सवमा आफूलाई मन परेको दल वा उम्मेदबारलाई मतदान गर्नका लागि अपिल गर्नुभएको छ । मन्त्री कार्कीले गोरखापत्रकर्मीसंग विहीबार कुराकानी गर्नुहुदै देशबासीलाई निर्वाचनलाई उत्सवको रुपमा लिई सबैको सहभागितामा आफूलाई मनपरेको उम्मेदबार वा पार्टीलाई मत दिई नयाँ यात्रा विकास र समृद्धिको यात्रामा योगदान गर्न आग्रह गर्नुभयो ।
विकास र समृद्धि सहित संघीयताको अनुभुती गराउने यात्राका रुपमा स्थानीय तहको निर्वाचनलाई लिनका लागि अपिल गर्नुभएको छ ।
ठाउँठाउँमा उम्मेदबार र नेता कार्यकताका बीचमा झडप र रकम बाडेको प्रसंगमा मन्त्री कार्कीले जनताको चेतनाको स्तर धेरै माथि रहेकाले त्यसो नगर्न र केहीले त्यसो गरे त्यो विपरित मानकिताको उपज हुन सक्ने भएकाले त्यसमा सबै सचेत र सजक हुन जरुरी रहेको बताउनुभयो । कोही कसैले पनि झडप र मतदाता प्रभावित पार्न रकमको कारोबार गर्न नहुने बताउनुभयो ।
इनरुवा, बैशाख २९ गते । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका सहित १२ वटै स्थानीय तह निर्वाचनको सबै तयारी पुरा भएको छ । मतदान केन्द्रमा घेराबेरा, सुरक्षा र मतदान सामग्रीहरु तथा केन्द्रमा आवश्यक सामाग्री सहित तह निर्वाचनको सबै तयारी पुरा भएको हो । मतदान अधिकृत र सुरक्षा टोलीले १२ वटै पालिकाका सबै मतदान केन्द्रमा मतदान स्थलमा दलहरुसंग र उम्मेदबारका प्रतिनिधिसंग छलफल गरिएको छ । सबै मतदान अधिकृतले निर्वाचन सुरक्षित र भयरहित बनाउन अत्यावश्यक सूचना जारी गरी ३ सय मिटर वरिपरिको क्षेत्रलाई मतदानस्थल घोषणा गर्दै मदिरा निषेध गरिएको छ । हातहतियार प्रर्दशन निषेधित क्षेत्रको सूचना जारी गरिएको छ ।
मतदान अधिकृतले निर्वाचनमा भाग लिएका दल तथा उम्मेदवारका प्रतिनिधिसँग सर्वदलीय बैठक गढी शुक्रबार विहान ६ बजे देखी ७ बजेभित्र मतपेटीकाको मुचुलका गरि मतदान सुरु गर्ने मूख्य निर्वाचन अधिकृत कैलाश प्रसाद सुवेदीले जानकारी दिनुभयो । यसअघि बुधबार र मंगलबार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा दिएको छ ।
यहाँका सबै ५८१ मतदान स्थल तथा केन्द्रमा बुथ निर्माण सम्पन्न गरिएको छ । महिला र पुरूषको लागि बेग्लाबग्लै लाइनको व्यवस्था गरिएको छ । जेष्ठ नागरिक, अपाङ्ग, गर्भवती र सुत्केरी, लैगिंक तथा यौनिक अल्पसंख्यकले भने मतदान गर्न लाइन बस्नु नपर्ने गरि व्यवस्था मिलाएको सुवेदीले बताउनुभयो ।
सुनसरीका १२ स्थानीय तहमा २ उपमहानगरपालिका, ४ नगरपालिका र ६ गाउँपालिका गरी कुल ५ सय ८१ मतदान केन्द्र तोकिएका छन् । धरान उपमहानगरका कुल १ लाख ३ सय २४ मतदाताले १ सय ७ मतदान केन्द्रबाट आफूले चाहेको दलका उम्मेदवारलाई मतदान गर्ने छन् । इटहरी उपमहानगरपालिकाका कुल १ लाख ४ हजार ६ सय २६ मतदाताले १ सय ११ मतदान केन्द्रबाट मतदान गर्ने छन् । यसैगरी इनरुवा नगरपालिकाको ४७ मतदान केन्द्रबाट ४२ हजार ४ सय ४८ मतदाताले मतदान गर्दैछन् । दुहवी नगरपालिकाको ४२ मतदान केन्द्रबाट ३६ हजार ७ सय ३० मतदाताले मतदान गर्दैछन् । बराहक्षेत्र नगरपालिकाको ६७ केन्द्रबाट ६३ हजार ६ सय ८ मतदाताले मतदान गर्दैछन् । रामधुनी नगरको ४४ केन्द्रबाट ४१ हजार ४ सय ७८ मतदाताले मतदान गर्दैछन् ।
गाउँपालिकाहरूमा कोसीमा २९ केन्द्रबाट २६ हजार ४ सय ६६ मतदाताले मतदान गर्दैछन् भने गढीमा २७ केन्द्रबाट २३ हजार ८ सय १७ मतदाताले मतदान गर्दैछन् । त्यस्तै देवानगञ्ज गाउँपालिकामा २६ केन्द्रबाट २३ हजार ५ सय ७८, बर्जु गाउँपालिकामा २५ केन्द्रबाट २२ हजार ४ सय ६७, भोक्राहा नरसिंह गाउँपालिकामा २८ केन्द्रबाट २४ हजार १ सय १, हरिनगर गाउँपालिकामा २८ केन्द्रबाट २४ हजार ८ सय २२ मतदाताले मतदान गर्दैछन् । सुनसरीको इटहरी उपमहानगरपालिकामा सबैभन्दा बढी मतदाता रहेका छन् । सबैभन्दा कम मतदाता बर्जु गाउँपालिकामा रहेको छ ।
१, सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका १० जल्पापुरको आधारभुत विद्यालयमा निर्माण गरिएको मतदान केन्द्र ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
सीमामा पूर्ण सिल
निर्वाचनका भारतीय सीमानाका पूर्ण सिल गरिएको छ । पारीबाट नेपालमा हुने चुनावमा घुसपैठ हुने आशंका सहित सिमानाका सिल गरेर सिमा क्षेत्रमा उच्च सुरक्षा सर्तकता अप्नाएको छ । नेपाल भारत सीमा नाकामा भारतीय सीमा सुरक्षा बलले नेपाली सुरक्षा निकायहरु सँग समन्वय गरी बाक्लो सुरक्षा तैनाथी बढाएको छ ।
निषेध आदेश जारी
सुनसरीमा स्थानीय तह निर्वाचनका लागि तोकिएका उच्च संवेदनशिल मतदान केन्द्रहरुमा उच्च सुरक्षा व्यवस्था पारिएको छ । स्थानीय प्रशासनले विहीबार निषेध आदेश जारी गर्दै सीमावर्ती हरिनगरा गाँउपालिका, देवानगञ्ज गाँउपालिका, कोशी गाँउपालिका, भोक्रहा गाउपालिका भरीमा राती ८ बजेदेखी वैशाख ३० गते साझँ ५ बजेसम्मका लागि अत्यावशक काममा सुरक्षा निकायसंग समन्वय गरि बाहेक व्यक्तिगत वा सामूहिक हिसावले कोही पनि घर बाहिर ननिस्कनुहुन आग्रह गरिएको छ । आदेशलाई पालना नगरे वा विपरित भए गरेको पाइएमा वा अटेर गरेको पाईएमा स्थानीय प्रशासन ऐन अनुसार कानूनी कारर्वाही गरिने व्यहोरा जानकारीका लागि अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । इनरुवा नगरपालिकाका ३, ९ र १० नम्बर वार्डहरु, इटहरी उपमहानगरपालिका वडा नम्बर ३ र दुहवी नगरपालिका १, ८ र ९ नम्बर वडामा मतदान केन्द्रहरुमा निर्वाचन विथोल्ने कार्य हुन सक्ने आशंकाका बीचमा आदेश गरेको हो ।
प्रजिअ यादवले निर्वाचन भयरहित, शान्तीपूर्ण र धाधली रहित बनाउन सुनसरी प्रशासनले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालय र म्यादी प्रहरीको बाक्लो परिचालन गरेको जानकारी दिनुभयो ।
संचार तथा सूचना प्रविधि मन्त्री कार्की सुनसरीबाट मतदान गर्नुहुदै
नेपाल सरकारका प्रवत्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरीको बराहक्षेत्र नगरपालिका १० नम्बर वडामा मतदान गर्नुहुदैछ । दोस्रो पटक हुने लागेको एतिहासिक स्थानीय तहको निर्वाचनमा मन्त्री कार्कीले बराहक्षेत्र नगरपालिका १० नम्बर वडामा मतदान केन्द्रमा मतदान गर्नुहुनुभएको हो । मतदानका लागि संचार तथा सूचना प्रविधि मन्त्री कार्की तीन दिन अघि नै सुनसरी आईपुग्नुभएको छ । मन्त्री कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट संघीय सांसद समेत हुनुहुन्छ ।
पूर्व उपप्रधानमन्त्री गच्छदार भलुवामा मतदान गर्नुहुदै
नेपाली काग्रेंसका नेता तथा पूर्व उपप्रधान तथा गृहमन्त्री विजय कुमार गच्छदारले सुनसरीको दुहवी नगरपालिका २ नम्बर वडामा मतदान गर्नुहुदैछ । गच्छदारले स्थानीय नविन शिशु आधारभुत मतदान केन्द्रमा मतदान गर्नुहुन्छ ।
त्यसैगरी नेपाली काग्रेंसका केन्द्रिय तथा प्रदेश सासद राजीव कोइरालाले सुनसरीको इनरुवा नगरपालिका १ नम्बर वडामा मतदान गर्नुहुदैछ । कोईरालाले चान्दनी अधारभुत केन्द्रमा मतदान गर्नुहुन्छ ।
त्यसैगरी नेपाली काग्रेंसका नेता तथा संघीय सासद एवम पूर्व राज्य मन्त्री सिताराम मेहताले पनि सुनसरीको इनरुवा नगरपालिका २ नम्बर वडामा मतदान गर्नुहुदैछ । मेहताले राजाजी मावि केन्द्रमा मतदान गर्नुहुन्छ ।