विराटनगर । भ्रमण कोशी २०८२ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डलसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
विकल्प एन अल्टर्नेटिभ द्वारा आयोजित उक्त कार्यक्रममा कोशी प्रदेशलाई प्रमुख पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न आवश्यक रणनीति, दिगो पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा आर्थिक सम्भावनाहरूबारे गहन छलफल गरिएको थियो।
कार्यक्रममा मन्त्री मण्डलले कोशी प्रदेशको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा जैविक विविधतालाई पर्यटन विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै सरकारले लिने योजनाबारे जानकारी गराएका थिए। उनले स्थानीय स्तरमा पूर्वाधार विकास, प्रवर्द्धनात्मक गतिविधि तथा नीति निर्माणमार्फत पर्यटन उद्योगलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।
सहभागी पर्यटन व्यवसायी, सरोकारवालाहरू तथा विज्ञहरूले पर्यटन विकासका अवसर र चुनौतीहरूबारे आफ्नो विचार राख्दै कोशीलाई आकर्षक गन्तव्य बनाउने सुझाव प्रस्तुत गरे।
“भ्रमण कोशी २०८२” लाई सफल बनाउन स्थानीय सरकार, निजी क्षेत्र तथा समुदायबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकाल्दै, कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो।





