सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले रङको पर्व फागु पूर्णिमा (होली) मर्यादित रूपमा मनाउन आग्रह गरेको छ। बुधबार एक सूचना जारी गर्दै प्रशासनले जिल्ला बासिन्दालाई शुभकामना व्यक्त गर्दै शान्त वातावरणमा पर्व मनाउन अनुरोध गरेको हो।
प्रदेश १ अन्तर्गतका पहाडी जिल्लाहरूमा बिहीबार होली मनाइँदैछ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र ले फागु पर्वको अवसरमा कुनै पनि अराजक गतिविधि गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।
प्रशासनले होली पर्व मनाउने नाममा जबरजस्ती रंग लगाउने, लोला हान्ने, हिलो वा पानी छ्याप्ने, नमेटिने रंग लगाउने, मादक पदार्थ सेवन गर्ने तथा सार्वजनिक स्थलहरूमा होहल्ला गर्ने कार्यहरू नगर्न आग्रह गरेको छ। साथै, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, जिस्काउने वा चर्को आवाजमा बाजा (डिजे) बजाउने गतिविधिहरू प्रतिबन्ध गरिएको जनाएको छ।
धार्मिक तथा सांस्कृतिक मूल्य–मान्यतामा आँच आउने कुनै पनि गतिविधि नगर्न प्रशासनले सचेत गराएको छ। नियम उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।






