सुनसरी । सुनसरीको इनरुवामा एम.एम. कप फाउण्डेशनको सम्मान कार्यक्रम सम्पन्न भएको छ। २१ वर्षदेखि पत्रकारिता गर्दै आएका गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादव सम्मानित भएका छन्। नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष अर्जुन सुवेदी लगायत अन्य व्यक्तिहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको छ।
“जहाँ क्रिकेट बाँच्छ, त्यहाँ हामी छौँ” भन्ने मूल नाराका साथ खेलकुद तथा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरूलाई एम.एम. कप फाउण्डेशनले सम्मान गरेको हो। कार्यक्रममा साहित्यकार शशी बजगाईं, जीवनाथ पोखरेल, पत्रकार जयकृष्ण यादव, शशि कोईराला लगायतलाई सम्मान प्रदान गरिएको थियो।
उक्त कार्यक्रम एम.एम. कप फाउण्डेशनको केन्द्रीय कार्यालयका अध्यक्ष विप्लव घोष को अध्यक्षतामा सम्पन्न भएको हो भने प्रमुख अतिथि पूर्व मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य भीमप्रसाद आचार्य रहेका थिए।
कार्यक्रममा इनरुवाका उपप्रमुख विनिता मेहता र पूर्व वडा अध्यक्ष कालुराम गुरुङ ले खेलकुदको माध्यमबाट पहिचान स्थापित गर्नुपर्नेमा जोड दिए। पूर्व नगर प्रमुख खेमराज पोखरेल ले मनमोहन कप फाउण्डेशनले इनरुवालाई देशव्यापी रूपमा चिनाउन योगदान पुर्याएको बताए। कार्यक्रममा हाजी इसराईल मन्सुरी, निरा खनाल, रामप्रसाद मेहता लगायतको उपस्थिति रहेको थियो।
साथै, सम्मान कार्यक्रममा इनरुवा-३ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ र वडा नं. ७ का अध्यक्ष अशोककुमार साहु तेली लगायत विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। सयौं सर्वसाधारण, खेलाडी तथा सम्मानित व्यक्तिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा मृगौला पीडित पुष्प श्रेष्ठको उपचारका लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त सहयोगको जानकारी सचिव चेतनाथ पौडेल ले दिएका हुन्।
कार्यक्रमका क्रममा नगर प्रमुख केदार भण्डारी ले इनरुवाको खेलकुद विकास तथा प्रतिभाशाली व्यक्तिहरूलाई सम्मान गर्ने फाउण्डेशनको कार्यको प्रशंसा गर्दै गणतन्त्रले नागरिकलाई विकासका विभिन्न क्षेत्रमा अवसर प्रदान गरेको उल्लेख गरे।
सम्मान समारोहमा इनरुवा क्षेत्रका विभिन्न विधाका व्यक्तिहरूलाई समेत सम्मान गरिएको छ।