विराटनगर । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा आयोजित अध्यक्ष कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता आज सफलता पूर्वक सम्पन्न भएको छ। खेलकुद समितिका अध्यक्ष तथा शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख रमेशचन्द्र तिम्सिनाको अध्यक्षता र गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यमा दुई दिनसम्म सञ्चालन भएको यस प्रतियोगितामा माध्यमिक र आधारभूत तहका विद्यार्थीहरूबीच विभिन्न खेलहरू आयोजित गरिएका थिए।

कबड्डी खेलमा वडा नम्बर ७ स्थित जनता माध्यमिक विद्यालयले उपाधि जितेको छ भने भलिबल खेलमा वडा नम्बर २ स्थित जामिया इस्लामीया विद्यालय विजयी बनेको छ। विजेता टोलीहरूलाई गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गर्दै खेलाडीहरूको प्रशंसा गरे। उनले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक, र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान गर्ने कुरा बताए।

समारोहमा उपाध्यक्ष सुनिता कुमारी उराँव, विभिन्न वडाका वडाध्यक्षहरू, नेपाल रेडक्रस सोसाइटी भाेक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहाल लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
खेलकुद समितिका अध्यक्ष रमेशचन्द्र तिम्सिनाले खेलकुदले अनुशासन, सहकार्य, र स्वस्थ जीवनशैलीको विकासमा सहयोग पुर्याउने बताए। आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न र नयाँ खेलाडीहरूको पहिचानमा सहयोग गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी, र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





