विराटनगर । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको प्रमुख आतिथ्यमा कोशी प्रिमियर लिग (KPL2) दोस्रो संस्करणको भव्य उद्घाटन सम्पन्न भएको छ। खेलप्रेमीहरूको उल्लेखनीय उपस्थितिमा भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ४ स्थित डा. खलिल आजाद खेल मैदानमा आजदेखि सुरु भएको यो क्रिकेट प्रतियोगिता फागुन १७ गतेसम्म सञ्चालन हुनेछ।
मन्त्री मण्डलले खेल क्षेत्रको विकासमा प्रदेश सरकार सधैं प्रतिबद्ध रहेको बताउँदै यस्ता प्रतियोगिताले स्थानीय खेलाडीलाई राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत गर्ने धारणा व्यक्त गरे।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा उजागर गर्ने विश्वास व्यक्त गरे। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले यस प्रतियोगिताबाट खेलाडी उत्पादनको ठूलो अवसर हुने बताए।
नेपाल क्रिकेट संघ (क्यान) को स्वीकृति तथा सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा कोशी प्रिमियर लिग इभेन्ट्स म्यानेजमेन्टले प्रतियोगिता आयोजना गरेको हो। पूर्वेली सुपर किंग्स विराटनगर, नमुना ब्लास्टर इटहरी, दुहबी क्यापिटल्स, बालनबिउल सप्तरी टाइगर्स, एनबीएससी लायन विराटनगर, इटहरी आदर्श जायन्ट्स र भोक्राहा नरसिंह अर्नाज गरी ७ टोली सहभागी छन्।
कार्यक्रममा कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरी, कोशी गाउँपालिका अध्यक्ष अयुब अन्सारी, KPL खेलका निर्देशक अब्जल हुसेन, संयोजक गोपिन्द पौडेल लगायतको उपस्थिति रहेको थियो। प्रतियोगिता स्थानीय खेलाडीका लागि महत्त्वपूर्ण अवसर हुने विश्वास गरिएको छ।





