सुनसरी । भोक्राहा नरसिंह गाउँपालिकाले रसायनिक मल विक्रेताहरुलाई तोकिएको मूल्यअनुसार अनिवार्य रूपमा मल बिक्री वितरण गर्न निर्देशन दिएको छ।
गाउँपालिकाले जारी गरेको सूचनामा कृषि सहकारी संस्थाहरूले श्री कृषि सामग्री कम्पनी लिमिटेड, इटहरी तथा श्री साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, विराटनगरबाट मल ल्याई विक्री वितरण गर्दा अत्यधिक जनगुनासो आएको उल्लेख गरिएको छ।
यसै सन्दर्भमा, अनुदानको मल वितरण व्यवस्थापन स्थानीय समितिले तोकेको मूल्यभन्दा बढी शुल्क असुल नगर्न निर्देशन दिइएको छ। साथै, मल बिक्री गर्दा अनिवार्य रूपमा बिल बिजक जारी गर्न र प्रतिवेदनमा समावेश गर्नुपर्ने उल्लेख छ।
यदि सहकारी संस्थाहरूले यो निर्देशनको उल्लङ्घन गरेमा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ। गाउँपालिकाले किसानहरूलाई तोकिएको मूल्यमै मल उपलब्ध गराउन विशेष ध्यान दिन सहकारी संस्थाहरुलाई आग्रह गरेको छ।
