इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा हरितालिका तीज तथा जितिया मिलन कार्यक्रम सम्पन्न भएको छ । सरकारी तबरमा पहिलो पटक भोक्राहा नरसिंह गाउँपालिका कार्यालयले सबै महिला कर्मचारी, शिक्षक, महिला स्वास्थ्य स्वयसेविका र जनप्रतिनिधिहरुको सहभागितामा हरितालिका तीज तथा जितिया मिलन कार्यक्रम सम्पन्न गरेको हो । गाउँपालिकाले विभिन्न समुदायको जातीय तथा धार्मिक र संस्कृतिक पर्वहरुको सम्मान गर्दै एतिहासिक रुपमा महिलाहरुको महान पर्व हरितालिका तीज तथा जितियाको अवसरमा मिलन तथा शुभाकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ । भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष सुनिता कुमारी उराँवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद, प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरे, वडाहरु हारुन अंसारी, धिरेन्द्र कुमार यादव, वडा सदस्य फुलकुमारी साह, स्वास्थ्यकर्मी सुनिता साह, मिठु श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख हिरा साह सहितको उपस्थिती रहेको थियो ।
कार्यक्रमका वत्ताहरुले तीज मिलन कार्यक्रमले हिन्दु मुस्लिम सहित मधेसी र अन्य समुदायको महिलाहरुले एउटै मञ्चमा उभिने र शुभकामना साटासाट तथा नाचगान गदै रमाईलो गर्न पाएकोमा खुसि व्यक्त गरेका थिए । विभिन्न वडा, गाउँ र टोलबाट जम्मा भएका झन्डै तीन सय महिला दिदीबहिनीहरुलाई तीजको दर खुवाएको थियो । कार्यक्रममा उपाध्यक्ष सुनिताकुमारी उराँवले तीज र जितियाको ऐतिहासिक सांस्कृतिक महत्व जोगाउनुपर्ने बताउनुहुँदै पहिले यो पर्व महिलाहरुको मात्रै भए पनि अब आम नेपालीले मनाउने राष्ट्रिय पर्व भएको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै
‘पहिले यो महिलाको मात्रै पर्व थियो अब आम नेपालीको भएको छ, पहिले अधिकार पाउने बुहारी, सासु, नन्द, आमाजुका पीडा राख्ने पर्व थियो अब यसको क्षेत्र बिस्तार भएको छ, केही विकृति छन तिनलाई हटाएर नयाँ ढंगले अघि बढाउनुपर्ने छ, यो सबैको दायित्व हो’ उहाँले भन्नुभयो ।
त्यसैगरी वडा नम्बर ४ का वडा अध्यक्ष हारुन अंसारीले तीजलाई सामाजिक विभेद विरूद्व, महिलाका अधिकारका विषय मात्रै होइन अब समृद्धि र समानताका विषय,आत्मनिर्भरताका विषय पनि उठाउनु पर्ने बताउनुभयो । सामाजिक क्षेत्रमा महिलाहरुले देखाएको सक्रियताले महिला सशक्तिकरणमा पनि अघि बढेको बताउँदै यस्ता खालका कार्यक्रमले आपसी सद्भाव र सामीप्यता बढाउने उहाँको भनाई छ ।
प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरेले तीज र जितियाको सांस्कृतिक महत्वका विषयमा अग्रजहरुसँग सिकेर नयाँ पिँढीलाई सिकाउनुपर्ने समय आएको बताउनुभयो ।
उहाँले तिज सबै नेपाली दिदीबहिनीको महत्त्वपूर्ण चाड भएकाले कोही कसैले तडकभडक नगरी सभ्य तरिका मनाउनु पर्ने र दिदीबहिनीहरूबीच आपसमा सद्भाव कायम हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा महिला दिदिबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो । महिला दिदीबहिनीबीच सामुहिक रुपमा दर खाएर मौलिक तीज गीतमा नाँच गान गरिएको थियो ।