विराटनगर । सानो झुपडीमा दु:ख र अभावका बीच हुर्केकी सगुन शर्माको संघर्ष र सफलताको कथा हाल सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ। SEE परीक्षा पछि आर्थिक कठिनाइका कारण पढाइ रोक्नुपर्ने अवस्था सिर्जना भएको सगुनलाई एक कलेजले सहयोग गर्दै PCL Nursing को अध्ययन पूरा गर्न मद्दत गर्यो।
तर, अध्ययन पूरा गरेपछि पनि पैसाको अभावले गर्दा उनले आफ्नो प्रमाणपत्र लिन सकेकी थिइनन्। यस्तो कठिन परिस्थितिमा उनका बुबाले संसार छोडे, जसले गर्दा घरको सम्पूर्ण जिम्मेवारी सगुनमाथि आयो। परिवारको दायित्व पूरा गर्न सगुन दुबई गइन् र त्यहाँ नर्सिङ क्षेत्रमा काम गर्दै आफ्नो संघर्षको यात्रा जारी राखिन्।
कामसँगै उनले नर्सिङसम्बन्धी रमाइला कमेडी भिडियो बनाउन र सामाजिक सञ्जालमा पोस्ट गर्न थालिन्। उनका यी भिडियोहरूले उनलाई थप लोकप्रिय बनाएको छ। फरक शैलीका भिडियोहरू बनाउँदै आएकी सगुनको लोकप्रियता मात्र होइन, आर्थिक अवस्था पनि सुधार हुँदै गएको छ।
अहिले सगुनको कमाइले उनले नयाँ घर निर्माण गर्न सफल भएकी छिन्। सामाजिक सञ्जालमा लाखौँ दर्शकको माया पाएकी सगुन शर्माको यो प्रेरणादायी यात्रा असंख्य युवा पुस्ताका लागि उदाहरणीय छ।





