भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले माघे संक्रान्ति एवम् माघी पर्व, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य, र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष आजादले शुभकामना सन्देशमार्फत् माघे संक्रान्ति नेपाली जनजीवन र प्रकृतिसँग अन्योन्याश्रित रहेको पर्व भएको बताउँदै यसले नेपाली संस्कृतिको मौलिक पहिचानलाई झल्काउने धारणा व्यक्त गरे। उनले थारू समुदायद्वारा माघी पर्वलाई नयाँ वर्षका रूपमा, मगर समुदायमा तीरको निशाना लगाउने परम्पराका रूपमा, तथा तराईवासीले ‘नहान’ पर्वका रूपमा मनाउँदै आएको परम्परा स्मरण गरे।
यस पर्वको अवसरमा पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नान गरी पूजा अर्चना गर्ने, घिउ, चाकु, तरुल, तिलको लड्डु, खिचडी, र ढिक्रीजस्ता परिकार सेवन गर्ने परम्परालाई अध्यक्ष आजादले नेपाली समाजको सांस्कृतिक विविधताको उदाहरणका रूपमा उल्लेख गरे।
शुभकामना सन्देशमा उनले नेपाली समाजको बहुजातीय, बहुभाषिक, र बहुसांस्कृतिक विविधता आपसी बन्धुत्व र सहिष्णुताको आधार भएको बताउँदै यी चाडपर्वहरूले राष्ट्रिय एकता सुदृढ बनाउन योगदान गर्ने विश्वास व्यक्त गरे।
अन्त्यमा, अध्यक्ष आजादले माघे संक्रान्ति र माघी पर्वले सभ्य, सुसंस्कृत, र समतामूलक समाजको निर्माणमा प्रेरणा दिने विश्वास लिएको उल्लेख गरेका छन्।





