फालेलुङ, पाँचथर । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको प्रमुख आतिथ्यमा फालेलुङ गाउँपालिका–४, पाँचथरमा आयोजित आठौं फलेलुङ चौरी पर्यटन महोत्सव २०८२ भव्य रूपमा सम्पन्न भएको छ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री मण्डलले स्थानीय पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा ग्रामीण विकासमा यस्ता कार्यक्रमहरूले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले फलेलुङ क्षेत्रको प्राकृतिक सौन्दर्य, चौरीपालन संस्कृतिको समृद्ध परम्परा र पर्यटन सम्भावनाको प्रशंसा गर्दै स्थानीय बासिन्दा र आयोजकहरूलाई सफल कार्यक्रमको लागि धन्यवाद दिनुभयो।
उक्त अवसरमा मन्त्री मण्डलले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा सम्पूर्ण स्थानीयवासी, सहभागीहरू तथा पाहुनाहरूलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र सशक्त पर्यटन कार्यक्रमहरू ल्याउने प्रतिवद्धता पनि जनाउनुभयो।
स्थानीय संस्कृति झल्किने विविध प्रस्तुति, चौरीपालन सम्बन्धी प्रदर्शनी, परम्परागत खानाको स्वाद तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले महोत्सवलाई अझ आकर्षक बनाएको थियो।
यस महोत्सवले फलेलुङ क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश दिएको छ भने स्थानीयस्तरमा रोजगारी र आर्थिक गतिविधिमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।