सुनसरी । कोशी प्रदेश सरकारले आगामी कोशी पर्यटन वर्ष २०८२ लाई सफल बनाउन सीमावर्ती नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमा पर्यटनसम्बन्धी स्टिकर टाँस्ने कार्यक्रम सुरु गरेको छ।
आईतवार बिहान सुनसरीको कोशी ब्यारेजस्थित प्रहरी चौकीको प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले एक भारतीय नम्बर प्लेटको सवारीसाधनमा स्टिकर टाँसी कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभयो।
पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको कार्यक्रमको उद्देश्य नेपाल प्रवेश गर्ने विदेशी पर्यटकहरूको आवागमन सहज, व्यवस्थित र स्वागतयोग्य बनाउनु रहेको बताइएको छ। सीमाबाट भित्रिने भारतीय सवारीसाधनलाई आवश्यक कागजात परीक्षणपछि पर्यटन वर्षको स्टिकर टाँसिने व्यवस्था गरिएको हो।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राम प्रसाद आचार्य, सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा, जिल्ला सुरक्षा समिति पदाधिकारी, पत्रकार तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
आयोजकका अनुसार यस अभियानमार्फत पर्यटन वर्षलाई जनस्तरमा व्यापक बनाउने र सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई स्वागतको सन्देश दिने लक्ष्य लिइएको छ।