रविन्द्र कुमार यादव,
विराटनगर, पुस २८ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अध्यक्ष कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता आजदेखि सुरू भएको छ। शारदा माध्यमिक विद्यालय, वडा नम्बर १ को खेल मैदानमा उद्घाटन गरिएको यो प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक, मानसिक, र सामाजिक विकासका साथै विद्यालयहरूबीच आपसी सद्भावको वातावरण निर्माण गर्ने उद्देश्य राखेको छ।

खेलकुद समितिका अध्यक्ष तथा शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख रमेशचन्द्र तिम्सिनाको अध्यक्षता र गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको प्रमुख आतिथ्यतामा प्रतियोगिताको औपचारिक उद्घाटन सम्पन्न भएको हो।

कार्यक्रममा विशिष्ट अतिथिहरूको रूपमा गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँव, वडा नम्बर १ का वडाध्यक्ष लक्ष्मण मेहता, वडा नम्बर ३ का वडाध्यक्ष धिरेन्द्र यादव, वडा नम्बर ४ का वडाध्यक्ष हारूण अंसारी, वडा नम्बर ६ का वडाध्यक्ष सेराजुद्विन अंसारी, र वडा नम्बर ८ का वडाध्यक्ष उस्मान अंसारी (भोला हाजी) सहभागी थिए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहाल, शारदा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार मेहता, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक, विद्यार्थी, र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

खेलकुद समितिका अध्यक्ष रमेशचन्द्र तिम्सिनाले खेलकुदले अनुशासन, सहकार्य, र स्वस्थ जीवनशैलीको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद संस्कृतिको विकास र विद्यार्थीहरूको प्रतिभा उजागर गर्दै नयाँ खेलाडीहरूको पहिचानमा सहयोग पुर्याउनेछ।
प्रतियोगितामा माध्यमिक तह (कक्षा ९–१०) तर्फ छात्र भलिबल, छात्रा स्लो साइकल रेस, छात्र/छात्रा हाईजम्प, छात्र/छात्रा लङजम्प, छात्रा २०० मिटर दौड, र छात्र ४०० मिटर दौड समावेश गरिएको छ। यस्तै, आधारभूत तह (कक्षा ६–८) तर्फ छात्र/छात्रा स्लो साइकल रेस र कबड्डी, कक्षा ४–५ तर्फ छात्र/छात्रा चम्चा दौड (५० मिटर), तथा कक्षा १–३ तर्फ छात्र/छात्रा म्युजिक चेयर प्रतियोगिता गराइनेछ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले उद्घाटन समारोहमा बोल्दै, “खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक, र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँछ। विद्यालयहरूबीच सहकार्य र सद्भाव बढाउन यस्ता प्रतियोगिताले सहयोग पुर्याउँछन्,” भने।
प्रतियोगिता पुस २८ र २९ गतेसम्म सञ्चालन हुनेछ। आयोजकले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई थप व्यापकता दिँदै विद्यार्थी र स्थानीय समुदायलाई प्रोत्साहित गर्ने योजना रहेको जानकारी दिएको छ।