काठमाडौँ । कोशी पर्यटन वर्ष २०८२ को तयारी तीव्र रूपले भइरहेको, पर्यटन प्रवर्द्धन तथा कोशी प्रदेशलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष छलफल सम्पन्न भएको छ। पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले प्रधानमन्त्री ओलीसँग भेट गरी कोशी प्रदेशमा पर्यटन वर्ष २०८२ मनाउनुको औचित्य, संघीय सरकारको सहयोग, प्रदेश सरकार र निजी क्षेत्रको सहभागिता तथा पर्यटनलाई आर्थिक मेरुदण्ड बनाउन आवश्यक रणनीतिबारे छलफल गर्नुभयो।
भेटघाटका क्रममा मन्त्री मण्डलले कोशी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्दै संरचना विकास, प्रवर्द्धन नीति र लगानी वृद्धि गर्न सरकारको विशेष ध्यानाकर्षण गराउनु भएको थियो। प्रधानमन्त्री ओलीले पर्यटन प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको र कोशी प्रदेश पर्यटन वर्ष सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस छलफलपछि आगामी चैत्र २७ गते प्रधानमन्त्री ओलीकै जन्म जिल्ला तेह्रथुमको गुराँस राजधानी, आरआर गार्डेनमा पर्यटन वर्ष २०८२ को औपचारिक शुभारम्भ गर्न उहाँलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ। कोशी प्रदेश सरकारले पर्यटनलाई दीर्घकालीन राष्ट्रिय पूँजीको आधारका रूपमा विकास गर्ने रणनीति अनुरूप पर्यटन वर्षलाई ऐतिहासिक बनाउन तयारी तीव्र बनाएको छ।





