रविन्द्र यादव , काठमाडौं, जेठ १६ गते । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०८२ तथा World Summiter’s Summit 2025 कार्यक्रम काठमाडौंस्थित होटल याक एण्ड यतीमा भव्यतापूर्वक सम्पन्न भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको विशेष समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल लगाएत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा कोशी प्रदेश सरकारका तर्फबाट हिमाल आरोहण क्षेत्रमा विशेष योगदान पुर्याएका ५ जना हिमाल आरोहण सहयोगी, ५ जना उद्दारकर्ता तथा २०२५ स्प्रिङ सिजनको सबैभन्दा कम उमेरको आरोहीलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रममा विश्वभरका हिमाल आरोहणसम्बन्धी विज्ञ, आरोही तथा पर्यटन प्रवर्द्धनमा सक्रिय संस्थाहरुको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
नेपालको पर्यटन प्रवर्द्धन, पर्वतारोहण क्षेत्रको समृद्धि तथा सगरमाथाको अन्तर्राष्ट्रिय पहिचान सुदृढ गर्ने उद्देश्यसहित आयोजना गरिएको यो दिवसले देशको पर्यटन विकासमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।






