जागेश्वर यादव । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–५ स्थित बंगाली टोलमा नेपाल राष्ट्रिय बांग्ला समाजका केन्द्रीय अध्यक्ष पार्थो सरकार तथा केन्द्रीय कोषाध्यक्ष विन्दानन्द नुन्दी सहितको टोलीले बांग्ला समुदायका अगुवासँग भेटघाट तथा अवलोकन भ्रमण सम्पन्न गरेका छन्।
उक्त अवसरमा त्यहाँका हजारौंको संख्यामा बसोबास गरिरहेका बंगाली समुदायका अगुवा व्यक्तिहरूले आफ्नो भाषा, संस्कृति र परम्पराको संरक्षणप्रति सरकारको उपेक्षाका कारण चासो व्यक्त गरेका थिए। राणाकालमा स्थापित श्री पंचमी वंगला प्रारम्भिक विद्यालय, जसमा नेपाली र बांग्ला भाषामा पढाइ हुँदै आएको थियो, हाल स्वास्थ्य चौकीका रूपमा प्रयोगमा रहेको जानकारी गराइयो।
भेटघाटका क्रममा स्थानीय अग्रज तथा श्री प्रा.वि. शिस्वा धरमपुरका पूर्व प्रधानाध्यापक एवं नेपाली कांग्रेसका बुथ सभापति सुरेश मण्डल र वंगला विद्यालयका तत्कालीन प्र.अ. दुखभंजन मण्डलले समाजको इतिहास र पुनर्जीवनको आवश्यकता बारे जानकारी दिए।
सो अवसरमा टोलीले लोखि नारायण मन्दिर, चन्द्रशेखर शिव मन्दिर र राजाजी मन्दिरको समेत अवलोकन गर्यो। वडा नं. ५ का वर्तमान वडा सदस्य तथा बंगाली समाजका अग्रज मधुसुदन मण्डलले ‘कालीबारी परियोजना’ थाहा पाएपछि त्यस स्थानका लागि दश कठ्ठा जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै टोलीलाई सम्भावित स्थानको अवलोकन समेत गराए।
बंगाली समाजका अगुवा सुधिर मण्डलले अझै पनि बांग्ला पंचाङअनुसार पूजा, संस्कार र परम्परा कायम राखिएको जानकारी गराए। साथै ललित मण्डल, विवेक मण्डल, पृथ्वीचन्द्र मण्डल, अमृत मण्डल, दिनबन्धु मण्डल, सनातन कुमार मण्डललगायतका व्यक्तिहरूसँग परामर्श भई आगामी योजनाहरू पहिचान गर्दै आवश्यक कार्यक्रम अगाडि बढाउने सहमति समेत भएको छ।
स्थानीय समुदायमा पुनः सांस्कृतिक उत्साह जागृत भएको देखिएको छ र नेपाल राष्ट्रिय बांग्ला समाजले यस अभियानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।