नागरिकले चाहेको जस्तो गुणस्तरीय सेवा प्रदान गर्न नसक्दा तथा बीमीतहरुमा स्वास्थ्य बीमालाई लिएर हेर्न दृष्टिकोणका कारण स्वास्थ्य बीमा कार्यक्रम प्रति आम नागरिकको आर्कषण घटेको देखिन्छ ।
आमनागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यसहित २०७१ सालमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति गठन गरी २०७४ सालमा स्वास्थ्य बीमा बोर्ड गठन गरिएको थियो ।
यो कार्यक्रम देशका सबै नागरिकहरुलाई स्वास्थ्य उपचारमा सरल र सहज पहुँच पुर्याउने उद्देश्यले नेपाल सरकारले प्राथमिकतामा राखेको कार्यक्रम हो । तर स्वास्थ्य बीमा देखिएका विभिन्न समस्याहरुका कारण जनतालाई हैरानी छ ।
बीमा संचालित अस्पतालहरुका फार्मेसी प्रभावकारी नहुनु, समयमै दाबी भुक्तानी नपाउनु, स्वास्थ्य बीमालाई लिएर बीमीतहरुको गलत धारणा प्रमुख समस्याका रुपमा देखिएका छन् ।
कस्तो छ त स्वास्थ्य बीमामा आवद्ध र नविकरणको अवस्था ?
– हालसम्म आवद्धको संख्या २२ लाख १६ हजार ६ सय ५९ परिवारका ७१ लाख ८१ हजार ३ सय २५ जना
– बीमा कार्यक्रममा आबद्ध भएकामध्ये नविकरण भएको संख्या ५० लाख २६ हजार ९ सय २७ जना
– सेवा लिएका बीमितको संख्या ३२ लाख ३१ हजार ५ सय ९६ जना अर्थात् ४५ प्रतिशत
यसरी हेर्दा स्वास्थ्य बीमाबाट सुविधा लिन झन्झट भएकाले सेवा लिनेहरुको संख्या नै तुलनात्मक रुपमा न्यून छ । हाल स्वास्थ्य बीमामा आबद्ध घरपरिवार सङ्ख्या ३१ दशमलव ४ प्रतिशतबाट बढाई अर्थिक वर्ष २०८०÷८१ मा ५० प्रतिशत पु¥याउने लक्ष्य बीमा बोर्डले लिएको छ ।
स्वास्थ्य बीमाको दायरामा आएको कमीका कारण स्वास्थ्य बीमा गरेका बीमीतले नवीकरणमा चासो नदिएको स्वास्थ्य मन्त्रालयको भनाई छ । जसका लागि बीमाको दायरा बढाएर १ लाखको उपचार खर्चलाई बढाएर ५ लाख पुप्याउने तथा कोपेमेन्टमा लग्ने तयारी भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
स्वास्थ्य बीमा गर्ने कुनै पनि बीमितले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब, सामान्य शल्यक्रिया लगायतका सेवा लिन सक्छन् ।
साथै सरकारले तोकेको निःशुल्क औषधि पनि प्राप्त गर्न सक्छन् । तर स्वास्थ्य बीमामा देखिएका विविध कारणले स्वास्थ्य बीमामा आर्कषण देखिदैन भने बीमीतहरुले नवीकरणमा पनि खासै चासो दिएको देखिदैन ।





