विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफ्ना विभिन्न मागसहित आन्दोलनरत शिक्षकहरूलाई संयमता अपनाउन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै उनले शिक्षकहरूको जायज मागप्रति संघीय सरकार गम्भीर रहेको बताएका छन्।
मुख्यमन्त्री कार्कीका अनुसार शिक्षकहरूले उठाएका मुद्दाहरू सम्बोधन गर्न नेपाल सरकार प्रतिबद्ध छ। “तपाईंहरूको जायज माग पूरा गर्न नेपाल सरकार तयार रहेको जानकारी स्वयम् सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष भेटघाटमार्फत गराइसक्नुभएको छ,” उनले उल्लेख गरेका छन्।
उनले कक्षा ११, १२ तथा एसईई परीक्षाको ढिलाइले विद्यार्थीहरूमा निराशा पैदा हुन सक्ने र त्यसको प्रभाव दीर्घकालीन हुन सक्ने चिन्ता व्यक्त गरे। “यस्तो अवस्थाले युवाशक्ति पलायन हुन सक्ने मात्र होइन, देशको स्थायित्वमा समेत असर पर्न सक्छ,” उनले भने।
राजनीतिक अस्थिरताको असर संघीय कानुन निर्माण, सुशासन र शासन सुधारमा परेको बताउँदै उनले देशको आर्थिक वृद्धि र राष्ट्रिय पुँजी निर्माण समेत प्रभावित भएको धारणा राखे।
मुख्यमन्त्री कार्कीले हालै नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सहकार्य सुरु भएपछि देशलाई स्थायीतर्फ लैजाने प्रयासहरू तीव्र रूपमा अघि बढेको जनाएका छन्।
नेपाल शिक्षक महासंघ र शिक्षक साथीहरू केही समय धैर्य गरौँ, तपाईंहरूको विषयमा हामी गम्भीर छौँ, चासो र चिन्ता गरिरहेका छौँ,” उनको भनाइ छ।