सुनसरी । जिल्ला अस्पताल सुनसरीले न्यूनतम सेवा गुणस्तर मापदण्ड (Minimum Service Quality Standards) अन्तर्गत हालै सम्पन्न मूल्यांकनमा ८५% अंक प्राप्त गरेको छ। यसअघि उक्त अस्पतालले ८२% अंक प्राप्त गरेको थियो। सेवा, सुविधा, सुधार तथा अन्य गतिविधिको स्थलगत अनुगमनपछि प्रदेश स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयले संयुक्त रूपमा यो मूल्यांकन गरेका हुन्।
अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) अभिताप ठाकुरका अनुसार, पहिलो वर्षको तुलनामा अंक मात्र तीनले वृद्धि भए पनि प्रत्यक्ष सेवा लिने सेवाग्राहीहरूले अनुभूति गर्न सक्ने खालको सेवा प्रवाह सुनिश्चित गरिएको छ।
डाक्टरहरूले यस अस्पतालमा प्रदान गरिने सेवा अन्य जिल्लाको तुलनामा उत्कृष्ट रहेको अनुभव व्यक्त गरेका छन्।
प्रशासन प्रमुख राजकुमार मेहताले भने, “कुनै पनि कमी-कमजोरी नराखी सेवा दिन प्रयास गरिरहेका छौँ। तर बजेट अभाव, अपूरा तथा पुराना भवनहरूका कारण केही चुनौतीहरू भने छन्।” उनका अनुसार, वर्षौंदेखि निर्माण भएका भवनहरू सेवाग्राहीको चापसँग मेल नखाँदा थप सेवा विस्तारमा कठिनाइ देखिएको छ।
जिल्ला अस्पताल सुनसरीले प्राप्त गरेको पछिल्लो मूल्यांकनले सेवा सुधारको दिशामा रहेको प्रगति पुष्टि गरेको छ।