इनरुवा, सुनसरी । सामाजिक तथा आर्थिक रूपान्तरणको अभियानमा सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। नेपालको अर्थतन्त्रको तीन खम्बेमध्ये एक मानिने सहकारीले देशको ग्रामीण तथा शहरी क्षेत्रको विकासमा उल्लेखनीय योगदान दिएको कोशी बचत तथा ऋण सहकारी संस्था लि का व्यवस्थापक रिजन तिमिल्सिना बताउँछन्।
उनका अनुसार, सहकारी अभियानले आर्थिक विकास र जनताको जीवनस्तर उकास्न मार्ग प्रशस्त गरिरहेको छ। विशेषतः आपसी सहकार्य, सचेतनामूलक कार्यक्रम, र स्थानीय स्तरमा रहेको दक्ष जनशक्तिको उचित परिचालन मार्फत सहकारीले आर्थिक क्रान्तिको बाटो खोल्दै आएको छ।
नेपालजस्तो मुलुकमा राज्यको सेवा पर्याप्त मात्रामा नपुगेको अवस्थामा, सहकारीले विभिन्न पेशा र वर्गका व्यक्तिहरूलाई एकजुट गराई कृषि, उद्योग लगायतका क्षेत्रहरूमा योगदान पुर्याउन सफल भएको तिमिल्सिनाको भनाइ छ। साथै, सामाजिक समावेशीकरणको मर्म अनुरूप सहकारी शिक्षाको प्रवर्द्धन आवश्यक रहेको उनी औंल्याउँछन्।
“सहकारी मार्फत समाजलाई आफ्नै ठाउँबाट समृद्धितर्फ लैजाने समय आइसकेको छ,” व्यवस्थापक तिमिल्सिना भन्छन्, “सहकारीलाई अझ व्यवस्थित र प्रवर्द्धन गर्दै लैजाने हो भने मात्र समृद्ध नेपालको सपना साकार हुन सक्छ।”
यसैबीच, हरैचामोड निवासी नेत्रले पनि सहकारीको सशक्त प्रभाव रहेको बताउँदै समाजका सबै तहलाई समेटेर सहकारी सरोकार, व्यवस्थापन संरचना र भरोसामा आधारित सहकार्य आवश्यक रहेको धारणा राखेका छन्।