इनरूवा नगरपालिकाको प्रमुुखमा निर्वाचित केदार भण्डारीले जिम्मेवारी सम्हालेका छन । उनीसँगै उप प्रमुख बिनिता कुमारी मेहताले समेत कामकाज सम्हालेकी छिन ।
कार्यालय परिषरमा आयोजित शपथ ग्रहण कार्यक्रम पश्चात उनीहरुले पदभार ग्रहण गरेका हुन । पदभार ग्रहण पूर्व मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीले नगर प्रमुख भण्डारीलाई शपथ खुवाएका थिए ।
मुख्य निर्वाचन अधिकृतबाट शपथ ग्रहणसँगै बिजयी प्रमाण पत्र पाएपछि नगर प्रमुखको हकमा भण्डारीले उप प्रमुख सहितका निर्वाचित जनप्रतिनिधिहरुको शपथ गराएका छन । कार्यक्रमका वक्ताहरुले नव निर्वाचित जनप्रतिनिधिले जनमतको ख्याल राखी नगरवासीको हकहीत र नगरको समग्र बिकासमा ध्यान केन्द्रित गर्नु पर्नेमा जोड दिए ।
नगर प्रमुखका रुपमा पहिलो सम्बोधन गर्दै भण्डारीले आफ्नो कार्यकाल नगरको समृद्धि र बिकासमा केन्द्रित हुने उद्घोष गरेका छन । सबैलाई समेटेर अघि बढ्ने बताएका भण्डारीले आफुले पाएको जनमतको सम्मान गर्दै अघि बढ्ने बताए ।
उनले नगरवासीले महसुस गर्नेगरी जनहीतमा काम गर्ने प्रतिवद्धता समेत जनाए । यसैबिच कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका नगर प्रमुख भण्डारीले दुई दिन बिदा दिइने सरकारी नीति कार्यान्वयनमा ल्याउने सम्वन्धि निर्णयमा हस्ताक्षर गरेका छन ।
नगर प्रमुख भण्डारीको हस्ताक्षर रहेको पहिलो निर्णय सार्वजनिक बिदा र शैक्षिक सत्रको व्यवस्थापन केन्द्रीत रहेको छ । जसमा आइतबार नगरभरका सबै शैक्षिक संस्था बिदा रहने उल्लेख छ