रविन्द्र यादव ,विराटनगर, जेठ ७ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जलवायु परिवर्तन, विकास निर्माणका त्रुटिहरू र स्रोतको सीमितताको कारण मुलुकमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आयोजना तथा पूर्वी पृतना हेडक्वाटर सुनसरीको व्यवस्थापनमा विराटनगर जुटमिल चौरमा ‘कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन एकीकृत अभ्यास हातेमालो–७’ अन्तर्गत भूकम्प र आगलागी जोखिम न्यूनीकरण पूर्वअभ्यास गरिएको छ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले विपद् व्यवस्थापनमा जनताको जीउधनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै प्रदेश सरकारले आधुनिक प्रविधि, तालिमप्राप्त जनशक्ति र स्थानीय तहसँगको सहकार्यमा अर्जुनधारा (झापा) र रङ्गेली (मोरङ) मा विपद् व्यवस्थापन केन्द्र निर्माण थालिएको जानकारी गराए।
दुई दिने अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, स्काउट र राष्ट्रसेवक कर्मचारीसहित ९० जनाको सहभागिता रहेको छ।